अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

‘सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार पर्‍यो’-अर्थविद्

बिआरटीनेपाल २०८० माघ २६ गते ६:०० मा प्रकाशित

सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार परेको अर्थविद्हरुले बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले आन्तरिक ऋण लिँदा मुलुक भित्रै बस्ने र विदेशी ऋण लिँदा सावाँ ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताए ।

अर्थविद्हरुले सरकारले सहजताको लागि आन्तरिक ऋण लिने गरेको बताए । उनीहरुले सरकारले विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा परिचालन गर्नुपरेको अवस्था रहेको बताए । सरकारले वैदेशिक लगानी धेरै ल्याउनसके आन्तरिक ऋण कम हुने दाबी उनीहरुको छ ।उनीहरुले अहिले अर्थमन्त्रीलाई राजश्वको दायरा नबढाउन, करका दर हेरफेर नगर्ने तर सांसदहरुले भनेका आयोजनाहरु समावेश गरेर बजेटको आकार ठूलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्रीले त्यो गर्न सम्भव नभएको बताए । अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताउनुभयो । उहाँले विदेशी ऋण लिदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भएपनि लिन नसकेको बताउनुभयो ।

अर्थविद् आचार्यले अहिले पनि त्यस्तो ५० अर्ब रुपैयाँ बराबरको शोधभर्ना लिन बाँकी भएपनि सरकारले लिन नसकेको उल्लेख गर्नुभयो । उहाँले शोधभर्ना बापतको ५० अर्ब रुपैयाँ उठाउनसके आन्तरिक ऋण कम हुने बताउनुभयो । अर्थविद् आचार्यले सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुने गरेको बताउनुभयो ।कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सरकारले ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा लगानी गर्दा आन्तरिक ऋण बढिरहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले विदेशी लगानी धेरै ल्याउनसके सरकारले आन्तरिक ऋण लिनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । उहाँले लगानी सम्मेलनमार्फत धेरै विदेशी लगानी ल्याउने वातावरण बनाउन सरकार तत्काल लाग्नुपर्ने उल्लेख गर्नुभयो । विदेशी लगानी पनि नआउने र बैंकहरुको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि नभएको जिकिर डा.खतिवडाको थियो । उहाँले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर लगानी देखाउन आन्तरिक ऋण लिनुपरेको पनि बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले बैंकको कारणले पनि स्रोतमा निजी क्षेत्रलाई असर परेको उल्लेख गर्नुभयो । उहाँले अहिले सरकारले आन्तरिक ऋणको १ खर्ब बढी ब्याज र आन्तरिक र वाह्य गरेर ३ खर्ब ३० अर्ब जति साँवा ब्याज तिर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले यो वर्ष सरकारको राजश्व ११ खर्ब भन्दा माथि उठाउन सक्ने अवस्था नभएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले राजस्व संकलनको ३० प्रतिशत राजस्व डेट सर्भिसिङमा जाने बताउनुभयो । उहाँले अहिलेको बजेटमा अर्थमन्त्रीलाई रावश्वमा करका दरहरु नबढाउन, धेरै मान्छेलाई करको दायरामा नल्याउन, विदेशी र आन्तरिक ऋण नलिन तर बजेटमा संसदहरुले भनेका सबै अंकहरु राखेर बजेट ठूलो बनाउन दबाब भएपनि त्यो सम्भव नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू