अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

‘गाउँ आएको बाटो’युरोपको प्रतिष्ठित गोटेबर्ग चलचित्र महोत्सवमा

बिआरटीनेपाल २०८० माघ १० गते ५:१० मा प्रकाशित

नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो ।

गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्ने छ । ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ ।यो सिनेमाको टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ । निर्माण पक्षले सिनेमा विश्वको एकपछि अर्को प्रतिष्ठित चलचित्र महोत्सवमा छनौंट हुनुलाई नेपाली चलचित्रलाई विश्वले स्वीर्कान थालेको र नेपाली चलचित्रको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाँउमा सडक आए पछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो चलचित्र निर्माण भएको हो । ‘गाउँ आएको बाटो’ देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ । यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । नेपालमा यो सिनेमा बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ ।

प्रतिक्रिया