अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

धरानमा दुई दिने धरान म्युजिक फेस्ट सम्पन्न

बिआरटीनेपाल २०८० मंसिर १९ गते २०:१३ मा प्रकाशित

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरान । लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुई दिन धरानको पब्लिक हाई स्कुलको खेल मैदानमा चलेको “गीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ” ले बढाएको थियो ।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको “धरान म्युजिक फेस्ट २०८० ” को पहिलेओ दिन मंसिर १५ गते शुक्रवार युवा पुस्ताहरूमाझ लोकप्रिय ब्याण्ड “पहेँलो बत्ती मुनि” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो । धोकेबाज हौ तिमी बोलको गीतबाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानले धोकेबाज सँगै भाग्यमा खोट छ, तिम्रो मायाले बाँधेर राख,के माया लाग्छ लगायतका आफ्ना चर्चित गीतहरू गाएर पहिलो पल्ट धराने दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएकी थिइन भने “पहेँलो बत्ती मुनि”को ब्यान्डले गौँथली, लोरी, बरी लै, म बाटो हिँड्ने लगायतका गीतहरू गाएर दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए । स्थानीय धरानको सबमर्ज ब्यान्डले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै म्युजिक फेस्टको अन्तिम दिन मंसीर १६ शनिवार लोकप्रिय गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवारको प्रस्तुति निक्कै नै आकर्षक रह्यो । धरानमा आफ्नो पहिलो सो गरेकी उनको धरानको पहिलो आउटडोर कार्यक्रम रहेको थियो । उनले सुनसान रातमा, इट्स स्लोली, गाला रातै, जनम जनम जिउला सँगै, फुल बुट्टे सारी लगायतका गीतहरू गाएर भरपुर मनोरञ्जन दिएकी थिइन । उनका सबै गीतहरू उनीसँगै दर्शकहरूले गाइदिँदा उनी निकै नै खुसी देखिएकी थिइन । त्यस्तै अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान् गायक पूर्ण राईको विशेष प्रस्तुतिबाट धराने युवा दर्शकहरूको मन जितेका थिए । धरानको आउटडोर कन्सर्टमा पहिलोपल्ट आफ्नो प्रस्तुति दिएका धरान -१७ रेल्वेका पूर्ण राईले मनका कुरा, धुर्वतारा, नभेटेको भए लगायतका आफ्ना चलेका तथा नयाँ गीतहरू प्रस्तुत गरेका थिए । टिन एज पुस्तामा आफ्नो राम्रो क्रेज बनाएका गायक पूर्णको गीत एक महिना देखि युट्युबमा ट्रेनडिंगमा रहिरहन सफल भएको छ । सोही दिन स्थानीय लासोज ब्याण्ड र द भ्वाईसमा ब्याटल राउन्ड पार गरेका धरानका रिजन लोहनीले समेत आफ्नो दरिलो प्रस्तुति दिएका थिए ।

धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिनुहुने सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठ सँगै कालो कालो रात र गुराँसको फेद मुनिको सङ्गीतकार तथा पुराना गायक नवराम राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप-महानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघा, गीतकार मिना सिंगक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदर-पत्र, खादा तथा दश हजार रुपैयाँको छेक सहित सम्मान गरेका थिए । सुरेश राई तथा नबिना मग्रातीले कार्यक्रम संचालन गरेका थिए । धरानको साङ्गीतिक माहौललाई तताउँदै दर्शकहरूको बाक्लो उपस्थितिमा भव्य रूपमा सम्पन्न “धरान म्युजिक फेस्ट” धरानका उदाउँदो प्रतिभाहरूलाई ठुलो प्लेटफार्म दिन र पूर्ण मनोरञ्जनका फेरि फेरि पनि अझ परिष्कृत रूपमा आयोजना गरिरहने आयोजक सिल्भर ईन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिएका छन् ।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजना तथा व्यवस्थापनमा तथा गीता एभिएशनको प्रस्तुति रहेको “धरान म्युजिक फेस्ट २०८०” लाई सम्पन्न गर्न टुबोर्ग, रुस्लान, डिभाइन वाइन्स, सौर्य एयरलाइन्स, इडेन एकेडेमी, युएन कलेज, रेड ब्लु इनर्जी ड्रिङ्क, केन्द्र मोशन पिक्चर्स र एसपी इभेन्ट्सको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया