अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका खेल्नुपर्छ : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:३६ मा प्रकाशित

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरणको कमी, करका दरहरूको अनिश्चिता जस्ता कुराले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन नसकेको भन्दै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सभामुखको हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि सदैव आफ्नो प्रयत्न हुने उहाँले बताउनुभयो । सभामुख घिमिरेले व्यापार घाटाको आकार बढ्दै गएको अवस्थामा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवं आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले पुँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडपर्व सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हँुदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक स्थिति सबल हुने भए पनि नेपालजस्तो अल्पविकसित मुलुकमा निर्यातभन्दा आयात व्यापारको अंश कयौँ गुणाले बढी रहेको स्थिति रहको सभामुख घिमिरेले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेला १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठरआठ स्टलहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू