अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

प्रहरी समायोजन गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:११ मा प्रकाशित

प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रदेशका गृहमन्त्री(आन्तरिक मामिला तथा कानूनमन्त्री)हरुले संयुक्त रुपमा संघीय सरकारका गृहमन्त्री श्रेष्ठलाई भेट गरी यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । उनीहरुले प्रहरी कर्मचारी तथा संरचनाहरुलाई प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति, सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्व प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग गरेका छन् ।

गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विशेष अनुरोध गरिएको पनि जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रहरी समयोजनको प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता गर्नुभएको उहाँले बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठसँगको भेटमा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी., सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट सहभागि हुनुहुन्थ्यो । त्यसैगरी गण्डकी प्रदेशकि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका बिनाविभागिय मन्त्री समशेर राईको समेत उपस्थिति रहेको रहेको ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू