अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

बिआरटीनेपाल २०८० भदौ ३० गते ५:२४ मा प्रकाशित

सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको हो ।उहाँले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताउनु भयो । उहाँले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउनु भयो । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरु १६ औँ योजनामा समेटिने बताउनु भयो ।

सचिव अधिकारीले भन्नुभयो, ‘अटिजम डिसअर्डर सोसाइटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानुनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ । अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामीले अरु जस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्बन गरियो भने त्यसले उपलब्धि हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ । विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई हामीले उपयोग गर्नसक्छौँ । हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन ।’ सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताउनु भयो । बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता नै अटिजम हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू