अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

बिआरटीनेपाल २०८० भदौ ३० गते ५:१८ मा प्रकाशित

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय अनुसन्धान र अभियोजनले फैसला पनि राम्रो आउने भएकाले अनुसन्धान र अभिायेजन गर्ने निकायले गर्ने काम गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको सुधार बिना निरपेक्ष रुपमा अभियोजनको सुधारको परिकल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानका तथ्यहरुलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजन कर्ताको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउने र त्यसमा नै फैसलाले कार्यान्वयनमा समेत सहजता बनाउने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले सरकारी वकील कार्यालयबाट समयमा पुनरावेदनको म्यद नबुझेर पुनरावेदन गर्न अनुचित विलम्व हुने गरेको अवस्थालाई तत्काल निराकरण गर्न पनि महान्यायाधिवक्ताको कार्यालयको ध्यानाकर्षण गराउनुभयो । प्रभावकारी अभियोजनसँगै मुद्दाको अभियोजन र पुनरावेदन छिटो छरितो हुनुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले अभियोजनका समस्याको पहिचान गरेर मात्रै नपुग्ने भन्दै समस्या समाधानका लागि पहिचान भएका उपाय वा विकल्पको कार्यान्वयन गर्न आवश्यक साधन श्रोत लगायतको व्यवस्थापन त्यत्तिकै आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया