अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन दिन्नौं : विप्लव

बिआरटीनेपाल २०८० भदौ १२ गते ८:२२ मा प्रकाशित

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा एमसीसी परियोजना कार्यान्वयन हुन नदिने बताउनुभएको छ । समाजवादी मोर्चाले बुटवलमा गरेको सभामा उहाँले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताउनुभयो । ‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस्’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा विप्लवले भन्नुभयो ।

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेको भन्दै विप्लवले त्यसको विरोधमा एक्लै लड्न नसकिने भएकाले समाजवादी मोर्चा बनेको दावी गर्नुभयो । उहाँले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताउनुभयो । महासचिव विप्लवले देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन मोर्चा बनेको जिकिर गर्दै आफूहरुमा सरकारमा जाने लोभ नभएको स्पष्ट पार्नुभएको छ । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने भएको विप्लवको दावी थियो ।

प्रतिक्रिया