नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौमा आयोजित वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको कारण वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक भएको बताउनुभएको हो । वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताउनु भयो ।
गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताउनु भयो । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उद्योगी व्यवसायी, बैंक,व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेको गुनाशो गर्नुभयो ।