अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

सामाजिक विकास मन्त्रालयमा शिक्षकको धर्ना

बिआरटीनेपाल २०८० साउन ३२ गते ८:२७ मा प्रकाशित

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा शिक्षकले धर्ना दिएका छन्। बिहीबार दिउँसो नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशको अगुवाइमा शिक्षकले मन्त्रालयमा धर्ना दिएका हुन्। मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावित शिक्षा ऐनमा विगतमा शिक्षकसँग गरिएका सम्झौता समेटिनुपर्ने मागसहित शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ।

आइतबार देशभरका स्थानीय तहमा धर्ना दिएका शिक्षकले मंगलबार शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएका थिए। बिहीबार गण्डकीको सामाजिक विकास मन्त्रालयमा धर्नासँगै ज्ञापनपत्र बुझाएका छन्। २० वर्ष पढाउँदा पनि एउटा शिक्षक बढुवा नभई निक्लनुपर्ने भन्दै स्थायी र अस्थायी सबै प्रकारका शिक्षकका समस्या यसपल्ट समाधान हुनुपर्ने माग छ।

विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा असन्तुष्टि रहेको महासंघले जनाएको छ। शिक्षकले कुनै राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने व्यवस्थामा पनि शिक्षकले आपत्ति जनाएका छन्।

प्रतिक्रिया