अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

प्रहरीले बरामद गरेको ‘टल्कने’ ढुङ्गा गोरखामै राख्नुपर्ने माग, प्रधानमन्त्री भेट्न सर्वपक्षीय टोली काठमाण्डौमा

बिआरटीनेपाल २०८० साउन २९ गते ५:१८ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखामै राख्ने व्यवस्था मिलाइदिन गोरखा नगरपालिकाले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको ध्यानाकर्षण गराउने भएको हो । खानी तथा भूगर्भ विभागले त्याे पत्थर विभागमा पठाइदिन स्थानीय प्रशासनलाई पत्राचार गरेपछि नगरपालिकाले प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउन लागेको हो ।नगरपालिकाले हिजाे आइतवार डाकेको सर्वपक्षीय बैठकले त्याे पत्थरलाई गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयबारे जानकारी गराउनका लागि राजनीतिक दल र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिसहित गाेरखाका मेयर कृष्णबहादुर राना सोमवार काठमाण्डौ जानुभएको हो । खानी तथा खनिज पदार्थ ऐन २०४२ मा भएको व्यवस्थाअनुसार खानी तथा भूगर्भ विभागमा फिर्ता गर्नुपर्ने भएपछि जिल्लामै राख्ने व्यवस्था मिलाउन प्रधानमन्त्री, गृहमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाइने रानाले जानकारी दिनुभयो । यस्तै खानी तथा भूगर्भ विभाग र पुरातत्त्व विभागलाई त्याे पत्थरलाई जिल्लामै राख्ने व्यवस्था मिलाउन अनुरोधपत्र बुझाउने उहाँले बताउनुभयो ।

अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोरखाका नागरिकले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले आइतवारको सर्वपक्षीय बैठकले जिल्ला बाहिर नपठाउने निर्णय गरेको मेयर रानाले जानकारी दिनुभयो । मेयरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घ–संस्था, घरधनी र बुद्धिजीवीको आइतवार सर्वपक्षीय बैठक बसेर क्वार्ज कि्रस्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षित साथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरिएको हो ।

‘हामीले त आन्तरिक हिसाबले जिल्लामै राख्ने निर्णय गर्‍याैँ र कहाँ राख्ने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार हामीलाई भएन’, उहाँले भन्नुभयो, ‘त्यसैले यसबारे नेपाल सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई ध्यानाकर्षण गराउन हामी काठमाण्डौ जाँदैछौँ ।’  मेयर राना नेतृत्वको टोलीमा उपमेयर, तीन राजनीतिक दलका प्रतिनिधि, गोरखा उद्योग वाणिज्य सङ्घ, गोरखा चेम्बर अफ कमर्स, ज्येष्ठ नागरिक मञ्च र विभिन्न धार्मिक सङ्घ–संस्थाका प्रतिनिधि सहभागी छन् । कानुनी हिसाबमा खानी तथा भूगर्भ विभागले काठमाण्डौ लैजान सक्ने भए पनि जिल्लाभित्र भने त्याे पत्थरलाई यतै राख्नुपर्ने माग उठेकाे छ । यस्तै माग राखेर झन्डै दुई दर्जन सङ्घ–संस्थाले गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले खानी विभागले पत्थर विभागमा पठाइदिन पत्राचार गरे पनि अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । ‘कानुनतः यो विभाग मातहत गइसक्यो तर जिल्लामै राख्नुपर्ने माग, यहाँका नागरिकको आस्थालाई पनि बेवास्ता गर्न सकिने अवस्था छैन’, भुषालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू