ललिता निवास प्रकरण पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई हाजिर जमानीमा छाडिएको छ। उनीहरुलाई बुधबार छाडिएको हो। समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेल र खेतानलाई हाजिर जमानीमा छोडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेशकुमार आचार्यले बताउनुभयो । समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले र खेतानको जग्गा हडप्ने प्रक्रियामा संलग्नता नदेखिएको भन्दै छोडिएको हो। खेतानको नाममा रहेको ८ आना जग्गा फिर्ता गर्ने सहमति भएपछि उनलाई छाडिएको हो। अब ललिता निवास प्रकरणमा सीआइबीका २० जना हिरासतमा छन्।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, गोपाल कार्की, काठमाडौं ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी कार्यालयका कर्मचारी घमानकुमार कार्की, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, सकुलनन्द महर्जन र सञ्जय महर्जन प्रहरी हिरासतमा छन्।