अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

विमानस्थल भन्सारका अधिकृत चन्दसहित तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस

बिआरटीनेपाल २०८० साउन ४ गते ६:४४ मा प्रकाशित

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ । विमानस्थलबाट जाँच पास भएको करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गर्न उनीहरूलाई निलम्बन सिफारिस गरिएको विभागले जनाएको छ । विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गर्न अर्थ मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्रेक शुभित्र सुन आउँदा जाँच गर्ने फाराममा हस्ताक्षर गर्ने, भारम भर्ने र सामान आएको घोषणा गर्ने भन्सार एजेन्टलाई निलम्बन गर्न सिफारिस गरिएको हो । अधिकृतलाई सचिव स्तरको निर्णयबाट मात्रै निलम्बन गर्नुपर्ने हुन्छ । निलम्बनमा पर्ने कर्मचारीलाई भन्सार विभागले बिहीवार बिहानै जानकारी दिएको थियो ।

भन्सार विभागले कर्मचारीको संलग्नता र आवश्यक कारवाहीको सिफारिसका लागि बिहीवारै एक छानबिन समितिसमेत गठन गरेको छ । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले ५ दिनदेखि बढीमा ७ दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।

कर्मचारीलाई निलम्बसँगै भन्सार विभागले सामान ल्याउने कम्पनीले कति पटक सामान ल्याएको छ रु के के सामान ल्याएको छ ? भन्सार प्रक्रिया पूरा भए नभएको, भन्सार जाँचका लागि राखिएको यन्त्र उपकरणको प्रयोग भए नभएको विषयमा छानबिन समितिले अध्ययन गर्ने छ ।प्रक्रिया पूरा नभई सामान भित्रिएको भए त्यसमा संलग्न कर्मचारीलाई कारवाही गर्न सिफारिस गर्ने काम समितिले गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू