अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

बिआरटीनेपाल २०८० असार ८ गते ६:२४ मा प्रकाशित

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो। महोत्सवमा महानायक राजेश हमाल विषेश अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । हमालले चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले यो महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताउनुभयो ।

‘फिल्म फेस्टिभल नेपाली समुदायलाई जोड्ने माध्यम हो। नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस्। किनभने फिल्मले तपाईंको भावना र मतिष्कमा कहीँकहीँ सम्बोधन गर्छ। तपाईंको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ। त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ’, हमालले भन्नुभयो । चलचित्र महोत्सवलाई निरन्तरता दिनका लागि सहयोग गर्न हमालले नेपाली डायस्पोरालाई आग्रहसमेत गर्नुभयो ।

जुन २२ देखि २५ सम्म चल्ने चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदैछ। महोत्सव छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’को विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्ड प्रदान गरिने छ।

त्यस्तै, महोत्सवको दौरानमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ। मेरिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ। महोत्सवमा अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू