अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई माओवादीका सांसद दाहालको चेतावनी

बिआरटीनेपाल २०८० जेठ २८ गते ८:०८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ ।आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताउनुभएको हो । उहाँले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गर्नुभयो । उहाँले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न सल्लाह दिनुभयो । सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उहाँले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेको उल्लेख गर्नुभयो । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उहाँको भनाई छ । उहाँले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गर्नुभयो ।

सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा एमाले नागरिकता विधेयकलाई स्वीकार्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिकाहरु पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुुपर्ने बताउनु भयो । सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याइ आवश्यकता र उपयोगिताको आधारमा बजेट ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू