अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

राष्ट्रियसभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बिआरटीनेपाल २०८० जेठ २५ गते ६:२५ मा प्रकाशित

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकमा सांसद डा विमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको बताउनुभयो ।

सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसँग माग गर्नुभयो ।

सांसद महेशकुमार महराले विसं २०७७ साउनमा परेको अभिरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताउनुभयो । सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिनुभयो। अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौँ पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नती हुन नसकेको र बर्खायामको समयमा यात्रु र सर्वसाधारणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू