अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

सञ्चारमाध्यमले नागरिकको जीवनसँग गाँसिएका समाचार लिएर आउनुपर्छ- सभामुख घिमिरे

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:४५ मा प्रकाशित

सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधवार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले ’इन्जा डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताउनुभयो । उहाँले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले खोजमूलक र जनमुखी समाचार सम्प्रेषण÷प्रसारण गर्नुपर्ने बताउनुभयो । उहाँले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अङ्गहरूलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ । त्यस्तै ग्रामीण पत्रकारिता पुरस्कार २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू