अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

मिडियालाई सहुलियत कर्जा उपलब्ध गराउन माग गर्दै सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०७९ माघ २५ गते ५:३५ मा प्रकाशित

मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर अलाइन्सले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझेपछि सञ्चारमन्त्री शर्माले आम सञ्चार मिडियालाई व्यवस्थित गर्न सरकारको तर्फबाट आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पुरानो ऐनबाट मिडियाहरु सञ्चालन भइरहेकाले नयाँ ऐनहरुको निर्माण गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कतिपय मिडियासम्बन्धी ऐनहरु प्रतिनिधि सभाबाट फिर्ता भएको र कतिपय ऐनहरु राष्ट्रिय सभामा रहेकाले चाँडै नै ऐन परिमार्जन गरेर अघि बढ् प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबैखाले सञ्चारमाध्यमलाई सरकारले नियमन गर्नसक्ने कानून निर्माण गरी अघि बढ्न आवश्यक भएको बताउनुभयो ।त्यस्तै, मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली मिडिया उद्योग कोरोना महामारीपछि रुग्ण रहेकाले पुनर्जीवन दिनका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नु अनिवार्य भएको बताउनुभयो । उहाँले मिडियालाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन आवश्यक भएको बताउनुभयो । उहाँले सफ्ट लोनका विधि, प्रक्रिया र शर्तहरु आपसी समझदारीमा निर्धारण गर्न मिडिया अलाइन्स तयार रहेको बताउनुभयो ।

उहाँले रेडियो, टेलिभिजन, छापा जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै आर्थिकोपार्जनका लागि विज्ञापन नै एउटा मात्रै श्रोत भएपनि अहिले मुलधारका सञ्चारमाध्यममा विज्ञापनहरु ५० प्रतिशत भन्दा बढी घटेको उल्लेख गर्नुभयो ।त्यस्तै, टेलिभिजन प्रशारण गृहले वार्षिक कारोबारको १ प्रतिशत रोयल्टी बुझाउँदै आएपनि पछिल्लो अवस्थामा यसको भुक्तानीमा चुनौति थपिएको भन्दै रोयल्टी मिनाहा गरिदिन आग्रह गरेको छ । उहाँले सरकारले नियमन र अनुगमन नै गर्न नसक्ने रुपमा युट्युब र सोसल मिडियाले समाचार सम्प्रेषणको बाढी ल्याएको र त्यसले सामाजिक सहिष्णुता र संवेदनशील सन्तुलन खलल गरी अस्थिरता सिर्जना गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले सोसल मिडिया प्रविधिको रुपमा एउटा माध्यम रहेको तर त्यसलाई आम सञ्चारको माध्यमको रुपमा व्याख्या भइरहेको भन्दै यसले समाजलाई भ्रष्टीकरणतर्फ उन्मुख गराएको बताउनुभयो । उहाँले युट्युव र सामाजिक सञ्जाललाई निर्वाध प्रेस स्वतन्त्रताको रुपमा छोडिँदा समाजलाई गलत दिशातिर उन्मुख गराइरहेको बताउनुभयो ।

अध्यक्ष राजकर्णिकारले सरकारी विज्ञापनको प्रवाहमा एकद्वार प्रणाली कायम गरी विज्ञापन बोर्डमार्फत मिडियाहरुलाई विज्ञापन दिने व्यवस्था मिलाउन मन्त्री शर्मासँग आग्रह गर्नुभयो । उहाँले सरकारी विज्ञापनको प्रवाह विज्ञापन बोर्डबाट हुनुपर्ने भएपनि व्यवहारमा हुन नसकेको बताउनुभयो ।उहाँले नेपाली मिडियाले सरकारलाई नियमपूर्वक मूल्य अभिवृद्धि कर बुझाउँदै आएको तर कोरोना महामारी र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण बजारबाट समयमा नै पैसा उठ्न नसकेकाले त्यसमा लाग्ने जरिबाना हालका लागि मिनाहा गर्न आग्रह गर्नुभयो । अलाइन्सले पछिल्लो प्रतिकुल अवस्थालाई मध्यनजर गरी पत्रपत्रिकाको न्युज प्रिन्ट खरिदमा सरकारले लिने १ प्रतिशत भन्सार मिनाहा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू