अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीको ध्यानाकर्षण पत्र

बिआरटीनेपाल २०७९ माघ १७ गते ६:०० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाल प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।मजदुर, किसान र सर्वसाधारण जनताले महंगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको अवस्थामा देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरिएकोे छ । ज्ञापन पत्रमा जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति पलायनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महंगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरिएको छ ।सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, ८ देखि १२ कक्षासम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रूपमा ज्ञापनपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आफू समस्या समाधानका लागि सबै सरोकार पक्षसँग छलफल गर्ने बताउनुुभयो । उहाँले बजार भाउलाई नियन्त्रण गर्न नीतिगत रूपमा नै आवश्यक परिवर्तन गरी जनजीविका सहज गराउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । उक्त अवसरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत शीर्ष नेताको पनि उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू