अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

अरुण तेस्रो आयोजनाको सुरुङ ’ब्लास्टिङ’ गर्ने क्रममा एक कामदारको ज्यान गयो, दुई जना घाइते

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:५६ मा प्रकाशित

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ’ब्लास्टिङ’ गर्ने क्रममा एक जना कामदारको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।आज मङ्गलवार पावर हाउसको सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का २२ वर्षीय सूर्य गोले तामाङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । यस्तै ब्लास्टिङ गर्ने क्रममा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र पाँचपोखरी ५ कै ३८ वर्षीय मंगोल तामाङ घाइते हुनुभएको छ ।

सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकोमा सूर्य गोले तामाङको उपचारका क्रममा ज्यान गएको हो । घाइते दुई जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर उनीहरू घाइते भएका थिए । चिचिला गाउँपालिका ३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका ५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ । अरुण तेस्रोको आयोजना स्थलमा नेपाली र भारतीय गरी झन्डै चार हजारको सङ्ख्यामा मजदुर कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू