अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ मा प्रदीप खड्का

बिआरटीनेपाल २०७९ माघ १४ गते ११:२५ मा प्रकाशित

काठमाडौँ । अहिलेका चर्चित अभिनेता प्रदीप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को बुधवार सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गरिएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदीपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरू लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् । स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदीप यो फिल्म गर्न राजी भएको बताइएको छ । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबिच गत शुक्रवार औपचारिक सम्झौता भएको थियो ।

नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेस्रो साताबाट छायाङ्कन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको सङ्गीत,सम्राट् बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रतिक्रिया