अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

महाकालीमा तटबन्ध निर्माणकाे विषयलाई लिएर नेपाल र भारतका अधिकारीबीच छलफल

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:२४ मा प्रकाशित

दार्चुलामा नेपाल र भारतीय अधिकारीबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धका विषयलाई लिएर दुई देशका अधिकारीबीच आज साेमवार छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयाे । छलफलमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै किसिमको नोक्सानी नहुने गरि काम गर्न आग्रह गर्नुभएकाे छ । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याबिन जाली लगाएको छ । भारतीय पक्षले नारायणी पुलको उत्तरतर्फको भागमा तटबन्ध निर्माण गरेर पानीको धार नेपालतर्फ फर्काउन खोज्दा विवाद भएको हाे । अहिले नदीको उत्तरतर्फ तटबन्ध निर्माण गर्ने काम रोकिएको छ ।

नेपालले त्याे ग्याबिन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई आग्रह गरेकाे छ । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै नेपालतिरका स्थानीयवासी आक्रोशित भएका छन् ।  स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी भएको छ ।

भारतीय पक्षले काम गरेपछि हिजाे (आइतवार) र आज (साेमवार) खलङ्गा क्षेत्रमा तनाव सिर्जना भएको थियाे । त्यस क्रममा ढुङ्गामुढा हुँदा केहीबेर सीमा नाका बन्द गरिएको थियो । तर अहिले पुल खुलाइएको छ। हिजाे आइतवार तटबन्धकाे विषयलाई लिएर दुवै देशका नागरिकबीच ढुङ्गामुढा भएको थियो । त्यस घटनामा दुवै देशका नागरिक घाइते भएका थिए । ढुङ्गा लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह तथा भारततर्फ एक जना डोजर चालक नेपाली घाइते भएका छन् ।

गएकाे वर्षदेखि नै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्सट्रक्शनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू