अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 06:10

कोरोना महामारीपछि नेपालबाहिर पहिलो पटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ७:०६ मा प्रकाशित

कोरोना महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जानेभएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रो पटक प्रस्तुत हुँदैछ। चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको नेपथ्यले जनाएको छ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो। यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरुको बेला अन्य इमिरेट्सहरु विशेषगरी अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्लो पटक झैं यसपाली पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’मै ब्याण्ड प्रस्तुत हुँदैछ।

‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ जाँदैछौँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए।

नेपथ्यले २०१५ को महाभूकम्पलगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो। पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबइ कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो।‘त्योबेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौँ।’

त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रो पटक नेपथ्य दुबइ पुगेको थियो।‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्ला दुवैपटक जाँदा पाइएको आत्मियताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रुपमा दुबइ उपस्थित हुने जोग मिल्न गयो।’

नेपथ्यलाई यसपटक दुबइ सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्नलागेको हो। कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू