अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

चोलेन्द्र विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन समितिलाई सभामुखको आग्रह

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:५० मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गर्नुभएको छ । बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

सभामुख सापकोटाले प्रक्रिया अगाडि बढाउन आग्रह गरेको समिति सदस्य रामबहादुर विष्टले लोकान्तरलाई जानकारी दिनुभयो। चोलेन्द्रविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तापक्षका ९८ सांसदले गत फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रस्ताव देव गुरुङले फागुन २९ गतेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सिफारिश समिति गठन गरिएको थियो । ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेल सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसको तर्फबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट तथा माओवादी केन्द्रबाट यशोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य रहनुभएको छ ।

नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाका एकवाल मियाँ सदस्य हुनुहुन्छ । साउन २२ गतेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल गरेर महाअभियोग प्रस्ताव सिफारिश समितिमा पठाइएको छ । सिफारिश समितिमा पुगेको ३ महिनामा महाअभियोगको टुंगो लगाउनुपर्नेछ । चुनावको मिति घोषणा भइसकेकाले सिफारिस समितिले पाएको ३ महिनाको समयअगावै प्रतिनिधि सभाको कार्यकाल सकिने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू