अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

प्राधिकरणको नाफा १६४ प्रतिशतले बढेर १६ अर्ब रुपैयाँ पुग्यो, विद्युत् चुहावट १५.३८ प्रतिशतमा झर्‍याे

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:१६ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा झन्डै एक सय ६४ प्रतिशतले बढेकाे छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब नाै करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । योसँगै सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत् गृहहरूबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएकाे थियो । तर आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई झन्डै ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट ८७ अर्ब रुपैयाँ खुद आम्दानी भएको छ, याे अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

प्रतिक्रिया