अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

बाजुराको बुढीगंगामा भोलि निर्वाचन हुने

बिआरटीनेपाल २०७९ असार २२ गते ६:५६ मा प्रकाशित

जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार (भोलि) हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो ।मतदान स्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको उहाँले बताउनुभयो ।

१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको अधिकारीले बताउनुभयो ।निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेका छन् ।निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ । मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्नुभएको थियो ।

चुनावमा निर्वाचन अधिकृत १ जना, सहायक निर्वाचन अधिकृत १ जना, मतदान अधिकृत १९ जना सहायक मतदान अधिकृत १९ जना र अन्य ३८ जना कर्मचारी खटाइएको छ ।गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन् । बुढीगंगा नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

गत वैशाख ३० गते निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो ।वडा नम्बर २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वच्छ, निश्पक्ष र भयहित वातावरणमा हुन नसकेको भन्दै विवादित बनेको थियो । नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू