अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

नेपाललाई श्रीलङ्कासँग जाेड्न हुँदैन : पूर्वगभर्नर क्षेत्री

बिआरटीनेपाल २०७९ असार १७ गते ७:५३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति आएको उहाँकाे भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै पालिका चुनाव सम्पन्न गरेको र अब सङ्घ र प्रदेशको चुनाव गर्ने तयारीमा रहेकाले श्रीलङ्कासँग जोड्न नहुने बताउनुभयो ।

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पत्ति, एसडीआर र जम्मा गरेको सुनको समेत हिसाब गर्दा सात महिनाको आयात धान्न सक्ने अवस्था रहेको बताउनुभयो । यसैबीच उहाँले राष्ट्र बैंकले ल्याउने आउँदाे मौद्रिक नीति अपेक्षाकृत नहुने बताउनुभयाे । राष्ट्र बैंकले ल्याउने आउँदाे मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमा उहाँकाे शङ्का छ । बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको उहाँकाे भनाइ छ ।

पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हरेक फाेरममा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रूपमा भनेकाले शङ्का गर्ने स्थिति रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू