अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

असार ३१ मा ‘सम्झना–बिर्सना’

बिआरटीनेपाल २०७९ जेठ २१ गते १४:१० मा प्रकाशित

काठमाडौँ । प्रेमकथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनिल थापा,छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

दार्जिलिङ,सिल्गुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले वितरण गर्दै छ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् । शिव ढकालले खिचेको चलचित्रका गीतमा राजन ईशान र सुदर्शन तामाङको सङ्गीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.विशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउँछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।

‘रिल’ र ‘रियल’ दुवैमा जमेको जोडीका रूपमा चर्चित पूजा र आकाशलाई दर्शकले अब यही चलचित्रमा सँगै हेर्न पाउने छन् । आफूहरूले निकै मिहिनेतका साथ अभिनय गरेकाले विगतमा झैँ यो चलचित्रबाट पनि दर्शकको अपार साथ र माया पाउने विश्वास पूजा–आकाशको छ । भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत रहेको बताइने चलचित्रको नयाँ गीत केही दिनमै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।

प्रतिक्रिया