अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:५० मा प्रकाशित

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गर्नुभयो ।यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ ।

विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । यस विमानस्थलमा पहिलो व्यवसायिक हवाई उडान सञ्चालन गरेको जजीरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिका अनुसार सोमबारदेखि उडान सञ्चालन सुरु गरेको हो ।विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री शेरबहादुर देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताउनुभयो । यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने उनले बताए । नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने पनि देउवाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू