अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

बिआरटीनेपाल २०७८ माघ १८ गते ७:०३ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसकाे मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानअनुसार कारबाही गर्न माग गरिएको सङ्घका अध्यक्ष किरण पौडेलले बताउनुभयो । उहाँले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाती कदम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाती कदम हो । कहीँ भण्डारकाे लिकेजबाट र कहीँ तथ्याङ्क सङ्कलन नभएको भन्ने कुतर्क दिँदै यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ । दुई अर्ब ५० करोड रुपैयाँ बराबरको राज्यस्रोतको दुरुपयोग भएको छ । भ्रष्टाचार भएकाे छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनका निम्ति मुद्दा दर्ता गरेका छौँ ।’

प्रतिक्रिया