अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

नेप्से ३८ अंकले घट्यो, ४ अर्बमा खुम्चियो कारोबार

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:२५ मा प्रकाशित

साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । बुधबार सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ ।बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशत भन्दाकमले गिरावट आएको छ ।

नेप्से परिसूचक गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यता सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ । तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स, मानुषि लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।बुधबार कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया