प्रमुख विपक्षी एमाले भातृ संगठन अनेरास्ववियुसहितका सात विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। विद्यार्थी संगठनहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै मूल्य समायोजन गर्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाइने गरिएको भन्दै आपत्ति जनाएको छ।विज्ञप्ति निकाल्नेमा अनेरास्ववियुसँगै अखिल पाँचौ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र राष्ट्रिय विद्यार्थी संगठन छन्।
ुआज फेरि सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र हवाइ इन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि गरेको छ। जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै कोरोना महामारीले जनता आक्रान्त भएको अवस्थामा, जनतालाई राहत दिनुको सट्टा सरकार कोभिड खोप लुकाउनमा व्यस्त छ,विद्यार्थी संगठनहरूले भनेका छन्, मूल्य समायोजन गर्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाइएको छ।
नाफा निकाल्ने उद्देश्य राखी पटकरपटक मूल्य वृद्धि गर्ने कदम भएको भन्दै संयुक्त विद्यार्थी संगठनले खेद जनाएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न समेत उनीहरूले माग गरेका छन्। मूल्यवृद्धिविरूद्ध जस्तोसुकै प्रतिकारमा उत्रन बाध्य हुने उनीहरूको चेतावनी छ।