अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतको घोषणाप्रति माओवादी केन्द्रको आपत्ति

बिआरटीनेपाल २०७८ पुष ३० गते ७:३३ मा प्रकाशित

नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारत सरकारको घोषणाप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भर्त्सना गर्नुभएको हो । उहाँले नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न भारत सरकारलाई चेतावनी समेत दिनुभएको छ ।

भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न नेता श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं । शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं’, प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख लागेको जनाएको छ । ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कुटनैतिक पहल गरोस’, माओवादी केन्द्रले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू