अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

अर्थतन्त्रमा बाहिर प्रचार गरिएजस्तो संकट छैन – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ पुष २६ गते ७:३४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने वित्तीय क्षेत्रको प्रवृत्ति प्रति असन्तुष्टि जनाउनुभएको छ । बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभामा उहाँले यस्तो प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो । बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने भन्दै मन्त्री शर्माले संकटका बेला वित्तीय क्षेत्रमा सकारात्मक सोंच नदेखिएको बतानउनुभयो । उद्योगधन्दा, जनता र बैंक सबैलाई बचाउनुपर्छ भन्ने भावना वित्तीय क्षेत्रमा नदेखिएको उहाँको ठहर छ । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उहाँले ती मुलुकमा शाखा खोल्न आग्रह गर्नुभयो ।

एकै व्यक्तिले बैंक पनि उद्योग पनि सञ्चालन गर्नु ठिक नभएको भन्दै शर्माले उद्योगमा विशिष्टिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आफूले आफैँलाई ऋण लिने दिने गरेको देखिएको र यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा नआएको उहाँको तर्क छ । उहाँले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने ठोकुवा पनि गर्नुभयो । अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइनसकेको शर्माले दोहोर्याउनुभयो । यसैगरी पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू