कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतवार राष्ट्रिय सभागृहमा मतदान चलिरहेको समयमा काखमा भर्खरको बच्चा बोकेर एक युवती भोट हाल्न तयार थिईन् । काखमा साढे २ महिनाको बच्चा भएकाले उनी लाइनमा बस्नु परेन । यसरी काखमा दूधे बच्चा बोकेर कांग्रेस नेतृत्व छान्न आएकी युवती हुन्, मनिषा अर्याल । उहाँ कांग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाबाट प्रतिनिधि बनेर महाधिबेशनमा सहभागी हुनुभएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनमा लागि अस्ट्रेलियाबाट शुक्रवार मात्र काठमाडौं आएको अर्यालले बताउनुभयो । साढे २ महिनाका छोरा शुभम् उप्रेती सहित दुई बच्चा र श्रीमान समेतको दुईतर्फी भाडादर ४२ सय डलर लागेको मनिषाले बताउनुभयो । कांग्रेसप्रति प्रतिबद्ध भएकाले आफूहरू बच्चा बोकेर पनि नेपाल आएको उहाँले बताउनुभयो ।
३१ वर्षको उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर आउन पाउँदा खुशी लागेको अर्यालले प्रतिक्रिया दिनुभएको छ । आफूले मतदान गरेको व्यक्ति विजयी भएमा कांग्रेसमा सुधार हुने उहाँको विश्वास थियो ।