अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

राजाकै हस्तक्षेपले पराजित भएँ, प्रमाण सुरक्षित छ : कमल थापा

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:२० मा प्रकाशित

राप्रपाको एकता महाधिवेशनमा पराजय व्यहोरेका कमल थापाले पूर्वा राजाको हस्तक्षेपकै कारण आफू पराजित भएको दोहोर्‍याउनुभएको छ ।राजाको ठाडो हस्तक्षेप भएको प्रमाणसमेत आफूसँग सुरक्षित रहेको दाबी गर्नुभएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपप्रति भत्सर्ना र निन्दा गर्नुभएको छ ।

‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्बन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा झैँ राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?’

अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको र राप्रपालाई अहिले परेको पिर पनि यही भएको उनले उल्लेख गर्नुभएको छ । त्यसैले पनि आफू नैतिक र धर्मसंकटमा परेको उनको भनाइ छ । निवर्तमान अध्यक्ष थापाले निर्मल निवासको हस्तक्षेप यो पहिलो नभएको बताउनुभएको छ ।

‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ।थापाले आफ्नो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रूपमा नबुझ्न आग्रहसमेत गर्नुभएको छ ।

‘एउटा खेलाडी भएको नाताले हार वा जितले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ ।’ थापाले एकता महाधिवेशनबाट निर्वाचित भएका राजेन्द्र लिङ्देनसहित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू