अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

जनकपुरमा विवाह पञ्चमीका लागि तयारी तीव्र

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१९ मा प्रकाशित

हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि धनुषाको जनकपुरधाममा तयारी तीव्र पारिएको छ ।प्रत्येक वर्ष झँ यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो ।

त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ ।

अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ ।

यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरुपमा आउने छन् । विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू