अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

वैदेशिक रोजगारीमा सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने मन्त्री श्रेष्ठको भनाइ

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:१९ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवा–सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताउनुभएको छ ।वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवा–सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्किनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए ।

यस्तै गैरकानुनी बाटोबाट गएका घरेलु कामदारले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू