उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा आज (सोमवार) जीप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार बेग खोलाको उकालो जाँदै गरेको जीप सडकबाट तल खसेको हो । जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले बताउनुभयो । दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरूको उद्धारका लागि म्याग्दी सदरमुकाम बेनीबाट प्रहरीको टोलीसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको रेडक्रस घटनास्थलमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूको पहिचान खुल्न र दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।