अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

प्रधानन्यायाधीशको राजिनामा माग गर्दै मुलुकभरका १८ उच्च अदालतमा बारको प्रदर्शन

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ६:३९ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीशले न्यायालयमा विकृति, विसङ्गति, बिचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नुपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले आज मुलुकभरका १८ उच्च अदालतमा आज विरोध प्रदर्शन गरेको हो । उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको कारणबारे प्रष्ट पार्नका लागि उच्च अदालतमा विरोध गरिएको बारका महासचिव लिलामणी पौडेलले बताउनुभयो ।

ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रह्यो । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा जानुभएको छ । बारका महासचिव पौडेल जनकपुर पुग्दा उहाँसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि हुनुहुन्छ । वीरगञ्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बञ्जरालगायत जानुभएको थियो ।

इलाम उच्च अदालतमा कुमार शर्मा आचार्य र खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्जाली राई र अधिवक्ता मोहन इङ्नाम, हेटौंडा उच्च अदालतमा पूर्वमहासचिव विजय मिश्र र भुवन निरौला, बुलबलमा सविता भण्डारी बराल र बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुर्खेत उच्च अदालतमा उपाध्यक्ष रक्षा बस्याल, दाङ तुलसीपुरमा उपाध्यक्ष ईश्वरी भट्टराई, जुम्लामा मीनबहादुर महत, महेन्द्रगर उच्च अदालतमा उमेश विष्ट र प्रयागदत्त भट्टलाई पठाइएको छ ।

नेपालगन्ज उच्च अदालतमा वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का र रमन श्रेष्ठ, राजविराजमा रामचन्द्रसिंह राजपूत र वरिष्ठ अधिवक्ता एकराज भण्डारी, ओखलढुंगामा गंगासागर खत्री र अञ्जु कायस्थ, बागलुङमा सुरेन्द्र थापामगर जानुभएको थियो । प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतबाट बालुवाटारसम्म’ नागरिक मार्च’ गर्ने पनि बारले घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू