अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

बिसे नगर्चीको जन्मघरको भग्नावशेष भेटियो

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:३१ मा प्रकाशित

नेपाल एकीकरणमा विशेष योगदान पुर्याएका ऐतिहासिक एवम् चर्चित पात्र बिसे नगर्चीको जन्मघरको भग्नावशेष भेटिएको छ । गोरखा फाउन्डेसनको पहलमा नगर्चीको इतिहासको खोज तथा अनुसन्धान गर्न झापाबाट हालै गोरखा भ्रमणमा गएको पत्रकारहरुको टोलीले भग्नावशेष फेला पारेको हो ।गोरखा नगरपालिका वडा नं. ६ हटियाथोकस्थित गितारडाँडामा सिस्नोको झाडी पन्छाउँदा भग्नावशेष भेटिएको हो ।

भग्नावशेषको रुपमा काठबाट कुँदिको मूल दैलो र ढुङ्गाबाट बनेको गारो (पर्खाल) भेटिएको हो । झाडीभित्र पुरानो घरको अरु अवशेष समेत हुनसक्ने सम्भावना छ । पत्रकारहरु सिस्नोघारी पन्छाएर भग्नावेशषको अग्रभागको तस्वीर तथा भिडियो खिच्न सफल भएका छन् । नेपाल एकीकरण सुरु गर्नु अघि गोरखाली सेनाका लागि हतियार किन्न र युद्धको बन्दोबस्त गर्न गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग सल्लाह मागेको इतिहासकारहरु बताउँछन् ।

सल्लाह लिन घरमै आएका पृथ्वीनारायणलाई नगर्चीले एक रुपैयाँको ढ्याक हातमा थमाइदिदै गोरखा राज्यका १२ हजार घरधुरीसँग यसरी नै एक रुपैयाँका दरले अर्थसंकलन गर्न सुझाव दिएका थिए । पृथ्वीनारायणले नगर्चीकै सल्लाह मानेर आर्थिक संकलन गरेको र युद्धको बलियो तयारी गरेर नुवाकोट र उपत्यकाका राज्यहरुलाई एकीकरण गरेको भनाई छ ।नेपाल एकीकरण गरेको श्रेय राजा पृथ्वीनारायण शाहलाई जाने भए तापनि उनको अभियानमा बिसे नगर्ची लगायतको योगदानलाई कम आँक्न हुँदैन । तर नगर्ची दलित समुदायकै भएको कारण उनको योगदान र इतिहासको खोज अनुसन्धान हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू