अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा, भारतको असर नेपालमा

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते २०:३५ मा प्रकाशित

नेपालको तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । वायुको गुणस्तर मापन सूचक अर्थात् एअर क्वालिटी इन्डेक्स एक्वुआई दुई सयभन्दा माथि गएपछि त्यहाँको हावा अस्वस्थ रहेको मानिन्छ ।

केही घण्टादेखि विराटनगर, जनकपुर, महेन्द्रनगरलगायतका ठाउँमा रहेका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाइरहेका छन् । पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको वातावरणविद्हरू बताउँछन् ।

भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण आज वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । भारतमा सहरमा मानिसहरूले बिहीवार दीपावलीकाे राति धेरै पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको बीबीसीले जनाएको छ । अत्यधिक धुवाँसँगै दिल्ली विश्वको सबैभन्दा बढी प्रदूषित हावा भएको सहर बनेको छ ।

दीपावलीको समयमा आतसबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगारेको खबरमा उल्लेख छ । बिहान दिल्लीमा धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका छन् ।

प्रदूषणको स्तरलाई कम गर्न भारत सरकारले यस वर्ष पटाका बिक्री वितरणमा प्रतिबन्ध लगाएको भए पनि खुलेआम बिक्री र पड्काउने काम भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू