अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार, अब कोही पनि उद्धारको पर्खाइमा नरहेको मन्त्रालयको दाबी

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:२५ मा प्रकाशित

सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट ९ सय ४० जना नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नेपाल आएकाहरु श्रम स्वीकृति नलिइकनै अनौपचारिक हिसाबले रोजगारीको लागि अफगानिस्तान गएका मन्त्रालयले जनाएको छ । राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनिहरुलाई एकै ठाउँमा जम्मा पारेर आज काठमाण्डौ ल्याइएको हो । अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफगानिस्तानमा रहेको मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका निकायले अफगानिस्तानमा रहेका नेपालीलाई कुनै खतरा नरहेको जानकारी दिँदै कुनै जोखिम भएमा तत्कालै फर्काइने जानकारी दिएको पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अब अफगानिस्तानमा कुनै पनि नेपाली उद्धारको पर्खाइमा नरहेको बताउनुभयो । तालिबानले अफगानिस्तान कब्जा गर्ने तयारी गर्नासाथ संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जापान, विभिन्न रोजगारदाता कम्पनी लगायतको सहयोगमा नेपालीलाई उद्धार गरिएको भन्दै मन्त्रालयले नेपालीको उद्दारमा सहयोग पुर्याउने सबैलाई धन्यवाद पनि दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू