नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरूलाई एकीकृत समाजवादीमा आउन आग्रह गर्नुभएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमालेमा बस्नेहरूको भविष्य नभएको पनि ठहर गर्नुभयो । एमालेमा बसेका १० स्थायी कमिटी सदस्यको भविष्य उक्त पार्टीमा नरहेको दाबी गर्दै अध्यक्ष नेपालले समाजवादीमा आउन आग्रह गर्नुभएको हो ।
अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाललगायत १० स्थायी कमिटी सदस्य पहिले नेता नेपालतिर थिए भने नेपालले पार्टी विभाजन गरेपछि उनीहरू एमालेमै सक्रिय रहेका थिए । एमालेमा बस्नेहरूको हरिबिजोग हुनेवाला छ, त्यहाँ बस्ने मान्छेको बेहाल छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘एमालेको भविष्य नै छैन, खत्तम छ।’
अब हुने निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अध्यक्ष नेपालको दावी थियो । एमालेसँग पार्टी एकता नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीमा कम्युनिष्ट आदर्शसमेत नभएको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले अर्ली इलेक्सनको आवश्यकता नरहेको बरू एकैचोटी तीन तहको चुनाव गर्न सकिने उल्ल्ेख गर्नुभयो ।