अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

नेपाल र राष्ट्रसंघबीच अनुपम सम्बन्ध – रक्षामन्त्री डा रिजाल

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५५ मा प्रकाशित

रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएकामा गौरवको अनुभूति गराएको बताउनुभएको छ ।संयुक्त राष्ट्रसंघको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसंघको विश्वासिलो सहयात्री बन्न पुगेको बताउनुभएको हो ।

विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् । हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उहाँले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसङ्घ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पार्नुभयो ।

विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसङ्घ मिलेर काम गर्छ भन्ने प्रमाणका रुपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्घले गरिरहेका सहयोगको पनि प्रशंसा गर्नुभयो । नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुको सूचीमा दोस्रो नम्बरमा छ ।

सबैसँग मित्रता, कसैसँग पनि वैरभाव नराख्ने मान्यतालाई नेपालले सधैँ पालना गरिहेको बताउँदै उहाँले राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानूनको उद्देश्य र सिद्धान्तप्रति दृढ विश्वास राख्दै आएको छ भन्नुभयो । राष्ट्र सङ्घको प्रयासमा शान्ति र मानवताका लागि योगदान दिने दिवङ्गत सैनिक र नागरिकप्रति श्रद्धाञ्जली प्रकट गर्दै रक्षामन्त्री रिजालले घाइते सुस्वास्थ्यका लागि कामना गर्नुभयो ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलान्का मेडागान्डा लावेले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । बलाध्यक्ष रथी बालकृष्ण कार्कीले संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाका अनुशासित, व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताउनुभयो ।

राष्ट्रसंघले सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग गर्ने उद्देश्यले राष्ट्रसंघ स्थापना भएको हो । संयुक्त राष्ट्रसंघले नेपालको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, क्षमता अभिवृत्तिलगायत मानवीय सहायताका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू