अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१३ मा प्रकाशित

चितवनको रामपुरमा कार्तिक ८ देखि १२ गतेसम्म भैंसी सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औं एसियन बफेलो कंग्रेस २०२१’ हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । भैंसी पालनको विकास र नयाँ प्रविधि तथा भैंसीसँग सम्बन्धित नयाँ आविष्कार घोषणा गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । साथै यसले वैज्ञानिकहरूबीच अन्तरसम्बन्ध विस्तार र खोजी भएका नयाँ सफलताको बाँडफाँडका लागि पनि मद्दत मिल्ने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरूले १ सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । विभिन्न सातवटा विधाका कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि ३ सय ५० जनाभन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरूले बहस गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सम्मेलनबाट आएको नयाँ खोजलाई भैंसी पालक किसानसँग जोड्ने र यसले सरकारलाई नयाँ नीति निर्माण गर्न सहयोग पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने उक्त सम्मेलनको नवौं सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

पछिल्लो खोजअनुसार भैंसीलाई बेमौसमीमा पनि प्रजनन् हुनसक्ने कुरा पत्ता लागेको र यसलाई किसानसँग जोड्दै विश्वविद्यालयमै भैंसी अनुसन्धान केन्द्र स्थापनको तयारी भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो । विश्वभर भैंसी उत्पादनको हिसावले नेपाल चौथो र संख्याको हिसावले छैटौं स्थानमा रहेको उहाँको भनाइ छ ।

अहिले नेपालमा करिव ५५ लाख भैंसी रहेको र देशमा हुने दुध उत्पादनको करिव ६५ प्रतिशत भैंसीले योगदान गरेको डा. देवकोटाले बताउनुभयो । मासुमा समेत ५५ प्रतिशत भैंसीको योगदान रहेको उहाँको भनाइ छ । नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू