अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

“तत्काल बाढीपहिरो प्रभापवतको राहत र पुनर्स्थापनामा लाग्नूस्, बजेट अभाव हुँदैन”– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिनुभएको छ । राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत उहाँले निर्देशन दिनुभएको हो । बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

पछिल्लो ३ दिनमा बाढी पहिरोका कारण मुलुकले अकल्पनीय क्षति ब्यहोरेकोले त्यसमा तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि अझै द्रूत गतिमा सबैजना परिचालित हुन प्रधानमन्त्रीले निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । अन्य योजनामा छुट्टिएको बजेटलाई रकमान्तर गरेर भए पनि राहत र पुनर्स्थापनामा खर्च गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

प्रवक्ता पोखरेलका अनुसार देशभर बाढी–पहिरो नरोकिएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । उहाँले राहत र पुनर्स्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्ने तयारी रहेको बताउनुभयो । बैठकले कृषि बालीमा पुगेको क्षतिको विवरण संकलनको कार्य कृषि मन्त्रालयले गर्ने गरी निर्देशन दिईएको पोखरेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू