अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

मुगु बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:१८ मा प्रकाशित

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा गएकाे मङ्गलवार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको तथ्य पत्ता लगाइ १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएकाे प्रहरी कार्यालयले जनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ ।नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे १ ख ३१६७ नम्बरकाे बस गएकाे मङ्गलवार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर समक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै डीआईजी ऐरले भन्नुभयो, ‘बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू