अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

मुगुमा बसको ‘टायर पङ्चर’ हुँदा दुर्घटना भएकाे अनुमान

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:३१ मा प्रकाशित

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पङ्चर भइ दुर्घटना भएको खुलेको छ । हिजाे मङ्गलवार भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।   नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलवार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भइ बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा १३ जना घाइते भएका प्रहरीले बताएको हो ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभइ टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।

त्यही मोडमा बस अनियन्त्रित भइ भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरू दशैँ बिदामा घर आएका काठमाण्डाैलगायत सहरका कलेजमा अध्ययन गर्ने धेरैजसाे विद्यार्थी रहेका बताइएको छ । ज्यान गुमाउनेहरूकाे जिल्ला अस्पतालमा सनाखत भइ शव परीक्षणपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइने तयारी भइरहेको डीएसपी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू