अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठक नेपालका लागि फलदायक : परराष्ट्रमन्त्री

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:२६ मा प्रकाशित

सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किनुभएको छ ।गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी यही असोज २२ गते बेलग्रेड जानुभएका मन्त्री खड्का स्वदेश फर्किनुभएकाे हाे ।

बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा खड्काले बताउनुभयो ।

असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागीता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्वोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताउनुभयो । साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्बाेधनको क्रममा मैले सङ्ख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औँल्याएको छु ।”   साथै सम्मेलनमा बहुपक्षीय संस्थाहरु जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा खड्काको भनाइ छ । त्यसगरी उहाँले वैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरुबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिनुभयो ।

मन्त्री खड्काले भन्नुभयो,“असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयले त्यसका सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छु ।” उहाँले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ–आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न वैठकमार्फत सबैलाई अपिल गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू